काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू नियोजित प्रकृतिका रहेको खुलासा गरेका छन्। शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा धेरै अप्रिय र अनपेक्षित घटनाहरू घटेको बताए।
उनले आन्दोलनका क्रममा सुरक्षा व्यवस्थामा गम्भीर चुनौती देखिएको र हतियार लुटिनुका साथै जेलबाट कैदीहरू भागेको जानकारी दिए। “जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो,” उनले भने। मन्त्री सिंन्हाले चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ परिरहेको र सुरक्षाकर्मीहरूले भागेका कैदी र भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी राम्रो अनुसन्धानको नमुना प्रस्तुत गरेको उल्लेख गरे। उनले जेनजी आन्दोलनका क्रममा भएका घटनामाथि अहिले व्यापक अनुसन्धान भइरहेको जानकारी दिए।
सोही बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा सञ्चालनका क्रममा देखिएका कानूनी जटिलता र अस्पष्टताबारे सरकारको ध्यानाकर्षण गराए। उनले कानूनमन्त्री स्वयं उपस्थित रहेको र महासचिव पनि यस्ता विषयमा जानकार रहेकाले यी असहजता र अस्पष्टताहरू सरकारले गम्भीरताका साथ समाधान गर्ने अपेक्षा व्यक्त गरे।
अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारका अप्ठ्याराहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। “राष्ट्रिय सभा यो सरकारको कतिपय अप्ठ्याराहरूलाई सहजीकरण गर्नको निम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्ने थलो भएकाले यसको बैठक बोलाउनका निम्ति यसलाई चाहिने आवश्यक पूर्वाधारहरू सरकारले गम्भीरता साथ ध्यान दियोस्,” उनले भने।




