काठमाडौं । नेकपा एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संयमित र संवादमुखी अपिल सार्वजनिक गरेकी छन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई वैचारिक मतभेदलाई स्वाभाविक रूपमा लिएर सहमतिको बाटो खोज्न आग्रह गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले राजनीतिक जीवनमा उतारचढाव आउनु सामान्य भएको बताएकी छन्। उनले भनेकी छन्, ‘हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ, विचारमा मतभेद हुन्छ, कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो।’
झाँक्रीले पार्टीभित्र देखिएका असहमति र भावनात्मक प्रतिक्रियाहरूप्रति इंगित गर्दै नेताहरूलाई गम्भीर हुन आग्रह गरेकी छन्। उनले थप लेखेकी छन्, ‘हाम्रा बीचमा कयौं मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं। आग्रह, पूर्वाग्रह त्यागौं। यो आन्दोलनलाई सही दिशामा पुर्याऔं। हतार गर्नुपर्ने कुनै कारण छैन।’




