काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।
यसअघि गत शुक्रबार र आइतबारका लागि तय गरिएका बैठकहरू अन्तिम समयमा स्थगित भएका थिए । महाधिवेशनको मिति र स्वरूप (विशेष वा नियमित) सम्बन्धी मतभेदका कारण स्थगन हुँदै आएको थियो ।
महाधिवेशनका विषयमा सहमति खोज्ने प्रयास स्वरूप शीर्ष नेताहरूबीच पछिल्ला केही दिनदेखि निरन्तर छलफल भइरहे पनि साझा निष्कर्ष ननिस्केका कारण आजको बैठक विशेष महत्त्वपूर्ण बनेको छ ।
बैठकमा संस्थापन पक्ष र इतर समूह दुवै तर्फबाट छुट्टाछुट्टै कार्यतालिका प्रस्ताव गर्ने तयारी गरिएको छ । महामन्त्री गगनकुमार थापा नेतृत्वको पक्षले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले निर्वाचनपछि मात्र गर्नुपर्ने अडान लिएका छन् ।
संस्थापन पक्षीय नेताहरूले सोमबार नयाँ बानेश्वरमा बसेको भेलाबाट १५औँ महाधिवेशन आगामी वैशाख २५ देखि २८ गतेसम्म गर्ने निर्णय गरेका थिए ।
संस्थापन इतर पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन वा सम्भव नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन् ।




