काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मुछिएका जेफ्री एप्स्टीनसँगको सम्बन्धका कारण विवादमा आएका ब्रिटेनका राजकुमार एन्ड्रूले आफ्ना सबै राजकीय उपाधिहरू गुमाएका छन् । बकिङ्घम प्यालेसले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, राजा चार्ल्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जरका नामले मात्र चिनिनेछन् ।
यसअघि उनले ‘ड्यूक अफ योर्क’ लगायत अन्य राजकीय उपाधिहरू पनि त्याग गरिसकेका थिए । यससँगै उनले विन्डसरस्थित आफ्नो राजकीय निवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ । उनी अब सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्नेछन् ।
विज्ञप्तिमा राजदरबारले राजाबाट ‘राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको जनाएको छ । भर्जिनिया जूफ्रेले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग यौन सम्बन्ध राखेको दाबी आफ्नो संस्मरणमा दोहोर्याएकी थिइन्, जसलाई एन्ड्रूले सधैँ खण्डन गर्दै आएका छन् ।
यस घटनाक्रमप्रति प्रतिक्रिया दिँदै जूफ्रेको परिवारले उनको ‘सत्य र असाधारण आँटका कारण ब्रिटिश राजकुमार उपाधि विहीन बनेको’ बताएको छ । संस्कृति मन्त्री लीसा नन्दीले यो ‘ग्रूमिङ र यौन दुर्व्यवहारका पीडितहरूका लागि निकै शक्तिशाली सन्देश’ भएको बताइन् ।
यद्यपि, उनकी दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहनेछ र एन्ड्रू अझै पनि राजसिंहासनको उत्तराधिकारीका लागि आठौँ स्थानमा रहनेछन् ।




