जेनजी आन्दोलन : भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा, साढे ४ हजार बढी अझै फरार

काठमाडौं । भदौ २४ मा देशभर भएका ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका करिब ५ हजार कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको छ । अध्यागमन विभागले यस घटनालाई गम्भीरतापूर्वक लिँदै फरार कैदीबन्दीहरूलाई देश छोड्नबाट रोक्न यो कदम चालेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार कुल ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको छ । यसमा ४ हजार २२६ जना नेपाली नागरिक र ५२९ जना भारतीय नागरिकहरू समावेश छन् । यो निर्णयले फरार अपराधीहरूका लागि अन्तर्राष्ट्रिय यात्राको ढोका बन्द गरेको छ ।

जेनजी प्रदर्शनका बेला देशभरका कारागारबाट १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किसकेका छन् । ‘कतिपय आफैँ कारागारमा फर्किए भने कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ,’ न्यौपानेले भने ।

तर, अझै पनि ५ हजार १७४ जना कैदीबन्दी र बालसुधार गृहका बालबिज्याईंकर्तासहितका व्यक्तिहरू कारागारबाहिर नै छन् । यो ठूलो संख्यामा फरार रहेका व्यक्तिहरूले सुरक्षा चुनौती बढाएको छ । प्रहरी प्रशासनले फरार व्यक्तिहरूको खोजी तीव्र पारेको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री