झरीबीच थापाथली क्षेत्रका व्यावसायिक टहराहरूमा चल्यो डोजर 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ऐतिहासिक कालमोचन घाटको राममन्दिर परिसरमाथि अतिक्रमण गरी बनाइएका व्यावसायिक टहराहरू भत्काएको छ । महानगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी ती अवैध संरचनाहरू हटाएको हो ।

गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा हडपेर निर्माण गरिएका यी अस्थायी टहराहरूले मन्दिर परिसरको धार्मिक एवं सांस्कृतिक सौन्दर्यमाथि आँच पुर्‍याएको थियो । साथै, सार्वजनिक जग्गाको दुरुपयोगसमेत भएको महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार, अवैध संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई ३५ दिने सूचना दिइएको थियो । तर, सूचनाको बेवास्ता गरी अटेर गरेपछि महानगरले बाध्य भई डोजर चलाएको हो । यो अभियान गुठी जग्गा अतिक्रमण गरी अस्थायी संरचना बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको महानगरको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेषगरी, २०७९ सालमा मेयर बालेन्द्र शाहको नेतृत्वमा सुरु भएको यो अभियानले उपत्यकाका दर्जनौँ स्थानमा कारबाही गरेको छ । यसअघि बानेश्वर कम्प्लेक्स, काठमाडौँ मल र आरबी कम्प्लेक्स लगायतका स्थानमा बनेका अवैध पसल तथा संरचनाहरू भत्काइएको थियो ।

त्यसैगरी, दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनाइएका संरचनाहरू हटाई फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई व्यवस्थित पारिएको थियो । यसका साथै असन र इन्द्रचोक लगायतका व्यापारिक क्षेत्रहरूमा अव्यवस्थित पसलहरू हटाई क्षेत्रलाई सफा र व्यवस्थित बनाउन महानगर सफल भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री