काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड बुधबार सम्पन्न गरेको हो।
नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा निष्काशन गरिएको उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक सहभागिता रह्यो। कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यका दरले २५ लाख १० हजार ४९३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
कम्पनीले प्राप्त गरेको आवेदनमध्ये १८ लाख ९८ हजार ३३३ जनाले कुल २ करोड ५ लाख ६८ हजार २१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ६९ हजार ३३० आवेदन वैध र २६ हजार ६३६ आवेदन अमान्य ठहरिएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँड गोलाप्रथा (लकी ड्र) प्रणालीमार्फत गरिएको हो। यसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो। बाँडफाँड पश्चात शेयर नपाएका आवेदकको रकम बैंक खातामा स्वचालित रूपमा फिर्ता हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।




