संसद विघटनविरुद्धका रिटमा सर्वोच्चमा सुनुवाइ, पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्तिमाथि पनि प्रश्न

काठमाडौं । मुलुकको राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको प्रतिनिधिसभा विघटनसम्बन्धी १६ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि प्रारम्भिक सुनुवाइ सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चालिएका कदमहरूको संवैधानिकताबारे गम्भीर प्रश्न उठाइएको यी निवेदनहरूले न्यायपालिकाको अग्निपरीक्षा सुरु भएको सङ्केत दिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, प्रधानमन्त्रीको नियुक्ति, संसद विघटन बदर तथा संसद पुनःस्थापनाको माग गर्दै दायर भएका उत्प्रेषण र परमादेशका रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । यी रिटहरूमाथि सुनुवाइ ‘एनेक्स भवन’को माथिल्लो तलामा रहेको पुरानो कोठामा सञ्चालन हुने संवैधानिक इजलासमा हुनेछ ।

‘जेनजी आन्दोलन’ र कार्कीको नियुक्तिमाथि प्रश्न
विशेषगरी ‘जेनजी आन्दोलन’ पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिनु र त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरिनुलाई गैरसंवैधानिक भन्दै अधिकांश रिट निवेदकहरूले राष्ट्रपति पौडेलका निर्णयहरू सच्याउन माग गरेका छन् । यो विषयले मुलुकको संवैधानिक परम्परा र न्यायिक स्वतन्त्रतामाथि नै गम्भीर बहस छेड्ने देखिएको छ ।

यसका साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश नै मन्त्री बनेर सरकारमा सहभागी हुनुलाई गलत ठहर्‍याउँदै दायर भएका रिट निवेदनहरूमाथि पनि एकमुष्ट सुनुवाइ हुने भएको छ । न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि प्रश्न उठाउने यो विषयले न्यायिक सदाचारिताको सिद्धान्तमाथि पनि बहस केन्द्रित गर्नेछ ।

संवैधानिक इजलासमा पेश हुने केही रिट निवेदनहरूमा ‘जेनजी आन्दोलन’ को दमनमा भूमिका खेलेका निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाहीका लागि आदेशको माग समेत गरिएको छ । सामान्यतया: प्रारम्भिक सुनुवाइपछि ‘गम्भीर संवैधानिक प्रश्न’ देखिएमा निवेदनहरूलाई संवैधानिक इजलासमा पठाइने अभ्यास रहेकोमा, यसपटक यी सबै रिटहरूलाई सीधै संवैधानिक इजलासमा सुनुवाइका लागि पेश गरिने भएको छ।  

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री