काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाडफाँड यही कार्तिक १२ गते बुधबार हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि असोज २६ गतेदेखि २९ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीको आईपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन्, जसमा २ करोड १७ लाख २ हजार ८० कित्ता शेयरका लागि माग परेको छ। यो संख्या मागको तुलनामा ८.६४ गुणा बढी हो।
श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको थियो। सो आईपीओमा अत्यधिक आवेदन परेकाले अब बाडफाँड गोलाप्रथा मार्फत हुनेछ।
गोलाप्रथाबाट २ लाख ५१ हजार ४९ जनाले शेयर पाउनेछन्। तीमध्ये ३ जनाले भने १.१ कित्ता थपसहित ११ कित्ता शेयर प्राप्त गर्नेछन्। बाँकी १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो हुने भएको छ।
श्रीनगर एग्रीटेक कृषि तथा खाद्य उत्पादनमा आधारित कम्पनी हो। कम्पनीले संकलित रकमले उत्पादन क्षमता विस्तार, प्रविधिक सुधार तथा सञ्चालन पूँजीमा प्रयोग गर्ने जनाएको छ।




