काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन लिलाम बिक्री पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार, अब ग्राहकहरूले बैंकले प्रकाशन गर्ने लिलाम बिक्री सूचनामा उल्लेख गरिएको त्तच् कोड स्क्यान गरी सो पोर्टलमा सहजै प्रवेश गर्न सक्नेछन्। सो पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिनेछ। यसरी सम्पूर्ण विवरण हेरेपछि इच्छुक ग्राहकहरूले खरिद गर्न चाहेको सम्पत्तिसम्बन्धी थप जानकारी लिन पोर्टलमै रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकले उक्त पोर्टललाई नियमित अद्यावधिक गर्दै जाने जनाएको छ, जसमा लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण सूचना, नयाँ सम्पत्ति तथा अन्य विवरण समयमै प्रकाशित गरिनेछ। यस प्रणालीमार्फत पारदर्शिता, सहज पहुँच र विस्तृत विवरणसहितको जानकारी ग्राहकहरूसम्म पुर्याउन सकिने भएकाले इच्छुकहरूले प्रत्यक्ष लाभ लिन सक्ने बैंकको विश्वास छ।
एनआईसी एशिया बैंकले अनलाइन पोर्टल सार्वजनिक गर्दै यसले लिलाम प्रक्रियालाई अझ पारदर्शी, व्यवस्थित र विश्वासिलो बनाउने जनाएको छ। बैंकको भनाइमा, आधुनिक प्रविधिको प्रयोगमार्फत सम्पत्ति खरिद–बिक्री प्रक्रियामा सरलीकरण ल्याउन यो पहल महत्त्वपूर्ण हुनेछ।



