असल नियतले काम गर्दा गाली गर्नेहरूसँग डराउँदैनौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले असल नियत र स्पष्ट लक्ष्यका साथ काम गर्दा गरिने दुष्प्रचार र गाली गलौजसँग नडराउने उद्घोष गरेकी छिन् । बालुवाटारस्थित सरकारी निवासमा नेपाली सिनेमाका चर्चित कलाकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखेकी हुन् ।

उनले समाजमा फैलिएका दुष्प्रचार चिर्नका लागि कलाकारहरूलाई भूमिका खेलिदिन आग्रह गर्दै सरकारका कमीकमजोरी भए औंल्याइदिन पनि अनुरोध गरिन् । ‘असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग हामी डराउँदैनौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौं ।’

प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका कलाकारहरूमा ऋचा शर्मा, निश्चल बस्नेत, विजय बराल, विपिन कार्की, सुजित बिडारी, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा र कर्मा लगायत ९ जना चर्चित अनुहारहरू थिए । भेटघाटमा गृहमन्त्री ओम प्रकाश अर्यालका साथै कलाकारहरूसँगको भेटघाटको संयोजन गरेका पुकार बम पनि सहभागी थिए ।

कलाकारहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘साथ सहयोग सबैको चाहिन्छ । समाजमा तपाईंहरूको प्रभाव छ । दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री