संसद भवन जल्दा ‘यो नयाँ युगको सुरुवात हो’ भनेका निश्चल बस्नेतको चौतर्फी आलोचना

काठमाडौं । भदौ २४ गतेको आन्दोलनमा संसद भवनमा भएको आगलागीपछि अभिनेता निश्चल बस्नेतले दिएको अभिव्यक्तिको भिडिओ क्लिप सार्वजनिक भएपछि उनी चौतर्फी आलोचनाको शिकार बनेका छन् ।

आगजनी भइरहेको संसद भवन अगाडि उभिएर उनले ‘यो नयाँ युगको सुरुवात भएको, जेनजी पुस्ताले कसैले गर्न नसकेको काम गरेर देखाएको’ भन्दै धन्यवाद दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडिओ सार्वजनिक भएलगत्तै निश्चलले देशको महत्त्वपूर्ण संरचना जल्दा खुसियाली मनाएको भन्दै उनको व्यापक आलोचना सुरु भएको हो ।

आलोचना बढ्दै गएपछि निश्चलले बुधबार बेलुकी सामाजिक सञ्जालमा आफूले कुनै गल्ती नगरेको बताएका छन् । उनले ‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु’ भन्दै आफूमाथि छानबिन गर्न आग्रह गरेका छन् ।

उनले आफू भ्रष्टाचारको विरोधमा आन्दोलनमा सहभागी भएको स्वीकारेका छन्, तर भिडिओको माथि आफू अनुकूल क्याप्सन राखेर भ्रम छर्ने प्रयास भएको दाबी गरेका छन् । यद्यपि, जलिरहेको संसद भवन अगाडि उभिएर जेनजी पुस्तालाई धन्यवाद भनेको कुरा भने उनले अस्वीकार गरेका छैनन् ।

यसैबीच, बुधबार नै निश्चल बस्नेतसहित विजय बराल, सुजित बिडारी, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्म लगायतका कलाकार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री कार्कीले कलाकारहरूको समाजमा प्रभाव रहेको भन्दै सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचार चिर्न भूमिका खेलिदिन आग्रह गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री