आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य आकर्षणका रूपमा रहेको भाइटीका पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र ऐश्वर्यको कामना गर्दै परम्परागत पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने यो विशेष दिनले नेपाली समाजमा आत्मीयता र स्नेहको अनुपम उदाहरण प्रस्तुत गर्छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भए पनि यस वर्ष तिथि बढेका कारण तिहारको छैटौँ दिनमा भाइटीका परेको छ, जसलाई ‘यमद्वितीया’ पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज दिनभर टीका लगाउन शुभ रहे पनि साइत खोज्नेहरूका लागि बिहान ११:३९ बजेको अभिजित् मुहूर्तको समय सर्वोत्तम मानिएको छ।

टीका लगाइदिँदा दिदीबहिनी पूर्व फर्केर र दाजुभाइ पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यसरी बस्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने र शुभ कार्यमा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियमको पालना हुने समितिले जनाएको छ।

पूजन विधि र शास्त्रीय महत्व
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजाअर्चना गरी मूल थालीमा अष्टदल लेखिन्छ। यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम (अष्ट चिरञ्जीवी), चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवता र नवग्रहको पूजा आराधना गरिन्छ। तत्पश्चात् दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीकाका साथै मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिन्छन्।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, शास्त्रीय मान्यतामा तिहारको टीकाका लागि रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङ्गको उल्लेख गरिएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने र उनीहरूको पूजा गर्नाले अखण्ड सौभाग्य एवं ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको डा. भट्टराईले जानकारी दिए।

स्नेहको आदानप्रदान
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला तथा सेलरोटी लगायतका परिकार खुवाउने गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई दिदीबहिनीप्रति सम्मान प्रकट गर्छन्। यो परम्पराले दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप