काठमाडौं । देशमा भ्रष्टाचारविरुद्धको अभियान चलिरहेका बेला नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) ले यस अभियानलाई थप फराकिलो बनाउन सरकारसँग कडा माग राखेको छ । वाइसियलले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वराजा, पूर्वराष्ट्रपति र विभिन्न दलका नेताहरूको समेत सम्पत्ति छानबिन हुनुपर्ने अडान लिएको छ ।
शुक्रबार अनेरास्ववियु क्रान्तिकारीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाइसियलका अध्यक्ष पुष्प ओलीले वर्तमान सरकारले थालेको भ्रष्टाचार नियन्त्रण अभियानलाई साँघुरो घेरामा सीमित नगरी सबैलाई समेट्नुपर्नेमा जोड दिए । उनले पूर्वप्रधानमन्त्रीहरूको मात्र नभई, देशका उच्च पदस्थ व्यक्ति र प्रमुख राजनीतिक दलका नेताहरूको सम्पत्तिमाथि पनि प्रश्न उठाउनुपर्ने बताए ।
ओलीले भने, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक र समतामूलक राज्य हो, त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्यो ।’ उनले वैरभाव राखेर वा पक्षपातपूर्ण तरिकाले गरिने कुनै पनि छानबिन आफूहरूलाई मान्य नहुने चेतावनी दिए । तर, निष्पक्ष छानबिन भएमा त्यसको सुरुवात आफ्नै अध्यक्षबाट भए पनि स्वीकार्य हुने उनको भनाइ थियो ।
‘माओवादीलाई झन् छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन,’ ओलीले थपे, ‘जो कोही पनि भ्रष्टाचारमा संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट सुरु गर्नुस्। कसैलाई पनि छोड्न हामीले छुट दिने छैनौँ ।’
ओलीले पूर्वराजा र राप्रपा पार्टीका नेताहरूको सम्पत्तिमाथि पनि प्रश्न उठाए, ‘किन उनीहरूका घर जलेनन्, किन उनीहरूका पार्टी कार्यालय केही भएनन्? यो पनि गम्भीर विषय छ । रास्वपाको पनि गम्भीर विषय छ । यी विषयहरू पनि निष्पक्ष ढंगले छानबिन हुनुपर्यो ।’
यसैबीच, पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्यान्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल जनहितका कार्यमा केन्द्रित हुन आग्रह गरे ।




