गृहमन्त्री अर्यालको चेतावनी- निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले छाड्दैन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचन बिथोल्ने प्रयासमा केही तत्त्वहरू सक्रिय रहेको भन्दै उनीहरूलाई सरकारले कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्। भक्तपुरमा जिल्ला समन्वय समितिको कार्यालय अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनको माहोल बिगार्ने प्रयास गर्नेलाई सुरुमा सम्झाईबुझाई गरिने र त्यसबाट पनि नमानेमा सरकारले आफ्नो ढङ्गले काम गर्ने स्पष्ट पारे।

गृहमन्त्री अर्यालले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गराउनका लागि गठन भएको भन्दै तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको दाबी गरे। उनले निर्वाचनका लागि सरोकारवाला सबैलाई संवादमा आउन आह्वानसमेत गरे। यद्यपि, प्रमुख राजनीतिक दलहरूले भने सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन्।

गृहमन्त्री अर्यालले भने, ‘निर्वाचनका लागि सबै संवादमा आउनुपर्‍यो। स्टेकहोल्डरहरू संवादमा आउनुपर्‍यो। सरकारले संवादमा सहजीकरण गर्छ। राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ। हामीले हाम्रो तहबाट पनि संवादका लागि आह्वान गरिरहेका छौँ। यो स्थितिमा स्टेकहोल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन।’ उनले थपे, ‘निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि जो आउन चाहन्छ, त्यो अधिकार छ, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकार बनेको हो। फ्री र फेयर इलेक्सनका लागि बनेको हो। यसमा सहयोग गर्नुपर्‍यो।’

निर्वाचन बिथोल्ने प्रयास गर्नेहरूलाई सम्झाईबुझाई गर्दा पनि नमानेमा सरकारले कडा कदम चाल्ने उनको भनाइ थियो। उनले भने, ‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ। अब त्यो एलिमेन्टहरूलाई सकभर सम्झाई बुझाई नै गर्ने हो। यदि ती एलिमेन्टहरूले भड्काउन नै खोजेका हुन् भने सरकारले त्यतिखेर आफ्नो ढङ्गले काम गर्छ। निर्वाचन जसरी नि गराउँछ, तोकिएकै मितिमा गराउँछ।’

गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने काममा पनि सरकार लागिरहेको जानकारी दिए। व्यापक राजनीतिक हस्तक्षेपका कारण प्रहरीको मनोबल गिरेको स्वीकार गर्दै उनले वर्तमान सरकारले त्यसलाई उठाउने प्रयास गरिरहेको बताए। उनले विगतमा राजनीतिक दलहरूले प्रहरीको दुरुपयोग गरेको आरोपसमेत लगाए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री