मन्त्रिपरिषद् विस्तारको प्रश्नमा झोक्किइन् प्रधानमन्त्री कार्की

काठमाडौं । मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेकी प्रधानमन्त्री सुशीला कार्की पत्रकारको एक प्रश्नमा बिहीबार निकै आक्रोशित मुद्रामा प्रस्तुत भइन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा पत्रकारले सोधेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी प्रश्नमा उनले झोक्किएर जवाफ फर्काएपछि उनको कार्यशैलीमाथि थप प्रश्न उब्जिएको छ । पत्रकारले ‘प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद्को विस्तार कहिले हुन्छ ?’ भनी सोधेको सामान्य प्रश्नमा कार्कीको अनुहारमा एकाएक रिसको भाव देखियो । उनले झर्किँदै भनिन्, ‘भको भई छ नि’ (रिसाउँदै)

प्रधानमन्त्रीको यस्तो प्रतिक्रियापछि एक पत्रकारले फेरि सोधे, ‘थप विस्तार कहिले हुन्छ, प्रधानमन्त्रीज्यू ?’ यसपटक भने उनले केही नरम हुँदै भनिन्, ‘हैन, आज भोलि भइहाल्छ ।’ तर उनको पहिलो प्रतिक्रियाले पत्रकार तथा आम जनमानसमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।

जेनजी आन्दोलनको रापतापपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् । उनले दुई पटक मन्त्रिपरिषद् विस्तार गरे पनि अहिलेसम्म ७ जना मन्त्री मात्र नियुक्त गरेकी छिन्, जसले १२ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । बाँकी ९ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैँले सम्हालेकी छिन् ।

प्रधानमन्त्री कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने चर्चा चलिरहेकै बेला पत्रकारको प्रश्नमा उनको यस्तो प्रतिक्रियाले मन्त्रिपरिषद् विस्तारको विषय थप रहस्यमय बनेको छ । एकातिर सरकार गठनको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्नु र अर्कोतिर यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीको आक्रोशपूर्ण जवाफले उनको नेतृत्व क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप