काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा कुनै पनि नियतवश खराब काम नगर्ने दृढता व्यक्त गरेका छन् । बिहीबार आयोजित एक श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा रहुन्जेल जानेर–बुझेर कुनै गलत कार्यमा संलग्न नहुने बताएका हुन् ।
मन्त्री खरेलले आफू जस्तो अवस्थामा आएको, त्यस्तै अवस्थामा फर्कन तयार रहेको समेत स्पष्ट पारे । उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितिमा विशेष भूमिकामा आउनुपरेको छ । यति चाहीं भन्न चाहन्छु – कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन । तर तपाईंहरूलाई साक्षी राखेर भन्छु, जानेर–बुझेर नियतवश खराब केही गर्ने छैन । बरु जस्तो गएको त्यस्तै फर्किने छु ।’
आफूले कुनै काम नगरे पनि कुनै काम बिगारेको दाग लिएर नजाने उनको भनाइ छ । ‘कति गरिस्, कति गरिनस्, हिसाबकिताब समय गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न,’ उनले थप स्पष्ट पारे । प्राप्त सम्मानको गरिमा कायम राख्न आफू प्रयासरत रहने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा उपस्थित श्रष्टाहरूलाई सम्बोधन गर्दै मन्त्री खरेलले आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ रहेको बताए । उनले श्रष्टाहरूले देखाएको बाटोमा सधैं हिँड्न तयार रहेको प्रतिबद्धता जनाए ।
‘श्रष्टाहरूको सक्रियताले सधैं ऊर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईंहरूभन्दा नयाँ छौं, सिक्दै छौं,’ उनले भने, ‘त्यसैले यो देशको समृद्धिका लागि, साहित्य, कला, संस्कृतिको जर्गेनाका लागि, मौलिकतालाई जोगाउने अभियानका लागि जे जसरी यहाँहरू अहोरात्र खटेर लागिराख्नु भएको छ, यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईंहरूले डोहोर्याएको बाटोमा सधैं हिँड्न सकौं ।’



