नर्सका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन, न्यून पारिश्रमिकमा दक्ष जनशक्ति पलायनको जोखिम

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्। स्वास्थ्य सचिव डा. विकास देवकोटालाई आज बोलाएर प्रधानमन्त्री कार्कीले नर्सहरुको आन्दोलनका विषयमा विस्तृत जानकारी लिँदै समस्या समाधानका लागि यथाशीघ्र पहल गर्न र सोको प्रगतिबारे आफूलाई जानकारी गराउन निर्देशन दिइन्।

प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी कार्कीले देशमा रहेका दक्ष स्वास्थ्यकर्मीलाई अत्यन्तै न्यून पारिश्रमिकमा काममा लगाउनु उचित नभएको बताएकी छन्। उनले नर्सहरुको समस्या समाधान नभएमा ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने चिन्ता व्यक्त गरिन्।

हाल कास्कीका मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयको निर्णयबमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राखेका छन्। मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक मासिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो।

यस निर्देशनले आन्दोलनरत नर्सहरुको माग सम्बोधन हुने र स्वास्थ्य सेवामा संलग्न महत्वपूर्ण जनशक्तिको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री