भोटेकोशी जलविद्युत आयोजनाको शेयर निःशुल्क दिने कुनै सहमति छैनः भोटेकोशी पावर कम्पनी

काठमाडौँ । हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लि.ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि.बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि सहमति नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ। त्यसपछि, भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्रतिशत शेयर बिक्री गर्ने सहमति भएको कम्पनीले जानकारी गराएको छ।

शेयर खरिदका लागि आवश्यक रकम भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्टले बैंकबाट ऋण लिने र सो ऋणका लागि भोटेकोशीले जमानीको व्यवस्था गर्ने सम्झौता भएको कम्पनीले स्पष्टीकरण दिएको छ। निर्माण सम्पन्न भइसकेको उक्त आयोजनाबाट प्राप्त वार्षिक लाभांश मार्फत उक्त कम्पनीले लिएको ऋण र ब्याज तिर्ने व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले थप स्पष्ट पारेको छ कि यो व्यवस्था निःशुल्क शेयर वितरणको सहमति नभई व्यावसायिक र वित्तीय समझदारी अन्तर्गतको शेयर बिक्री व्यवस्था हो। कम्पनीले यस विषयमा गलत बुझाइ वा भ्रम नफैलाउन सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री