काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी (युवा पुस्ता)का महत्त्वपूर्ण मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्न नहुने स्पष्ट अडान राखेको छ । पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले बुधवार सभामुख देवराज घिमिरेसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।
शाहीले राप्रपाले सभामुखसमक्ष जेनजीका मागहरू सम्बोधन नगरी संसदलाई पूर्ववत् अवस्थामा फर्काउनु अनुपयुक्त हुने धारणा राखेको जानकारी दिए । उनले जेनजीको अहिलेको प्रमुख मागहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी र गैरदलीय स्थानीय तहको व्यवस्था हुनुपर्ने कुरामा जोड दिए । गैरदलीय स्थानीय तहको आवश्यकता पनि जेनजीकै माग रहेको उनको भनाई छ ।देश
मा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरू बाधक रहेको उल्लेख गर्दै शाहीले ती धाराहरूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । प्रवक्ता शाहीले भने, ‘हामीले सभामुखलाई स्पष्ट अडान राखेका छौँ । जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । जेन जीको अहिलेको माग भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, त्यो माग पूरा गर्नुपर्छ । संसदबाट पारित गर्छौं भन्ने प्रतिबद्धता भएमात्रै संसद पुनःस्थापना गरौँ नत्र नगरौँ । प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति हुनु भएन भन्ने छ । देशमा भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरू बाधक छन्, ती धारालाई परिमार्जन गर्ने प्रतिबद्धता हुनुपर्छ ।’
उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने उमेरबन्दी हटाउनुपर्ने माग पनि राखे । यसले युवा पुस्तालाई थप राजनीतिक अधिकार प्रदान गर्ने उनको तर्क थियो ।




