मेलम्चीको पानी पुनः काठमाडौंमा, उपत्यकाबासीलाई राहत

काठमाडौं । राजधानी काठमाडौंमा खानेपानीको हाहाकार भइरहेका बेला मेलम्चीको पानी पुनः वितरण सुरु भएको छ । गत वर्षको असार १० गते वर्षायामको बाढी र पहिरोका कारण बन्द गरिएको मेलम्ची खानेपानी आयोजना मर्मतपश्चात सञ्चालनमा आएको हो । यससँगै काठमाडौं उपत्यकाबासीले ठूलो राहत महसुस गरेका छन् ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार वर्षातले क्षति पुर्‍याएका विभिन्न ठाउँमा मर्मत कार्य सम्पन्न भएपछि हाल सुन्दरीजलस्थित सङ्कलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ । “वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ,” उनले भने ।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकोमा मेलम्चीको पानी बन्द हुँदा विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर मात्र पानी आपूर्ति भइरहेको थियो। मेलम्चीको १७ करोड लिटरभन्दा बढी पानी थपिएपछि वितरण प्रणालीमा उल्लेख्य सुधार आएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले मेलम्चीको पानी सुन्दरीजलमा पुगेसँगै वितरण प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनले भने, “विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीनरतीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ।” यसले उपत्यकाबासीको दैनिक जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

स्मरण रहोस्, २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको थियो। बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक छ देखि सात करोड लिटर पानी स्थानन्तरण गरेर काठमाडौँमा वितरण भइरहेको थियो। २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो तर सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म काठमाडौँमा बाह्रै महिना पानी ल्याउन सकिएको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री