काठमाडौं । रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुरमा पानी भरिएको एउटै खाल्टोमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ। यस घटनाले स्थानीयवासीमा गहिरो शोक छाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले दिएको जानकारीअनुसार, मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाकी १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवकी १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाकी १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेका छन्।
प्रहरीका अनुसार, बिहानै घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडक खण्डमा निस्किएका सात जना बालिकाहरूमध्ये यो दुर्घटना भएको हो। बाटो नजिकै रहेको पानीको खाल्डो तर्ने क्रममा तीन जना बालिका डुबेर बेपत्ता भएका थिए। चार जना बालिका भने सकुशल खाल्डो पार गर्न सफल भएका थिए। सकुशल उद्धार हुनेहरूमा उमेश रामकी १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाकी १३ वर्षीया छोरी मुस्कानकुमारी बैठा, दिनेश रामकी १० वर्षीया छोरी चन्द्रमुखीकुमारी राम र जोधन बैठाकी १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेका छन्।
घटनाको जानकारी पाउने बित्तिकै विभिन्न सुरक्षा निकायका टोली उद्धारका लागि खटिएका थिए। भन्सार सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको खोजी तथा उद्धार गरेको थियो।
उद्धारपछि बालिकाहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, अस्पताल पुर्याइएपछि चिकित्सकहरूले परीक्षण गर्दा तीनै जना बालिकालाई मृत घोषणा गरे।
यस घटनाले रौतहटमा शोकको वातावरण सिर्जना गरेको छ। केही दिन अगाडि मात्रै पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो।




