काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । अनेरास्ववियुले उनीहरूलाई गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोप लगाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले जानकारी दिएअनुसार, संगठनको टोलीले शाह र गुरुङविरुद्ध संसद भवन, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनीको विषयमा उजुरी दिन प्रहरी परिसर पुगेको हो । ‘तोडफोड, आगजनी र प्रहरी हत्या प्रयासको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं,’ धामीले भने ।
जाहेरी लिएर पुगेका अनेरास्ववियुका प्रतिनिधीमध्ये तीन जनालाई प्रहरीले छलफलका लागि भित्र बोलाएको छ । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा व्यापक तोडफोड र आगजनी भएको थियो, जसले सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको थियो ।




