आन्दोलनकारीहरूले अवरोध गर्दा सिंहदरबारमा दमकल जान सकेन : मेयर बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सिंहदरबारमा आगजनीको घटनामा काठमाडौँ महानगरको दमकल नपठाइएको आरोपको स्पष्टिकरण दिएका छन् । उनले आन्दोलनकारीहरूको अवरोधका कारण दमकल समयमै घटनास्थलमा पुग्न नसकेको बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा एक सार्वजनिक स्टाटस जारी गर्दै भने, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीहरूको अवरोधले गर्दा दमकल जान सकेको थिएन । नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि काम गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको हो’ उनले भने ।

‘जब भीड अलिक शान्त भएको थियो, तब २४ गते साँझ ८ः१५ बजेसम्म काठमाडौँ महानगरको दमकल घटनास्थलमा पुगेको थियो’ उनले थपे ।

साथै, मेयर शाहले काठमाडौँ महानगरपालिकाका दमकलहरूको स्थितिको पनि जानकारी दिएका छन् । उनले भने, ‘काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरी जम्मा ५ वटा दमकल सञ्चालनमा छन् । १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले ३ शिफ्टमा काम गरिरहेका छन् । १ शिफ्टमा १ दमकलमा अधिकतम ३ जनाले मात्र दमकल सञ्चालन गरेका छन् ।’

शाहले २३ र २४ गतेको घटनामा काठमाडौं मात्र होइन, सिंगो देश जलेको अवस्थामा रहेको बताएका छन् । ‘महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने ।

उनले गलत आरोप फैलाउने व्यक्तिहरूसँग एकमुष्ट रूपमा सम्बोधन गर्दै, सूचना प्राप्त गर्ने हक प्रयोग गरेर काठमाडौँ महानगरपालिकाबाट वास्तविक जानकारी लिन सकिने बताएका छन् । उनले जनतालाई सही जानकारी दिने आवश्यकता रहेको र अफवाह फैलाउने कार्यबाट बच्न सबैलाई आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री