सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

काठमाडौँ । देशमा विनाशकारी आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँको महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभयो। गत भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरूमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो। यस क्षतिलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई कोषमा सहयोगका लागि आह्वान गरेको थियो।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले यो सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको बताएको छ। कम्पनीले राष्ट्रले आवश्यक महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिहरूमा विगतमा पनि विविध प्रकारका सहयोग गर्दै आएको छ। कम्पनीले विश्वास व्यक्त गरेको छ कि हालको यो योगदानले क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि निश्चित सहयोग पुग्नेछ।

यो सहयोगले देशको पुनर्निर्माण प्रयासमा थप बल पुग्ने र राष्ट्रिय संकटको घडीमा निजी क्षेत्रको सक्रिय भूमिकालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री