काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा राज्यको दमनमा परी ज्यान गुमाएका युवाहरूको न्यायका लागि ‘जेनजी’ अगुवाहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलाएका छन् । यो अभियानले अहिले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रियाहरू निम्त्याउँदै तीव्र गतिमा फैलिरहेको छ ।
जेनजी आन्दोलनका अगुवाहरूले तत्कालीन सरकारका प्रतिनिधिहरूलाई उक्त घटनाको जिम्मेवार ठहर्याउँदै उनीहरूलाई न्यायको कठघरामा उभ्याउनुपर्ने अडान लिएका छन् । जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दाग्न आदेश दिइयो, त्यो तानाशाहीपनको हिसाब हुनु जरुरी छ।’ उनले थप लेखेकी छन्, ‘मधेस विद्रोह हुँदा ‘दुई चार दाना कुहिएका आँप झरेका हुन्’ भन्ने अभिव्यक्ति दिने र जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हँसाउँदै चुटकिला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’
यसैगरी, अर्का जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्टलाई सेयर गर्दै ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली’ भनी लेखेका छन् । उनीहरूसँगै अन्य जेनजी अभियन्ता र सर्वसाधारणले पनि यस अभियानलाई समर्थन गर्दै व्यापक रूपमा फैलाइरहेका छन् ।
यो अभियानले केपी ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने माग उठाएको छ । प्रदर्शनकारीमाथि राज्यले चलाएको गोलीकाण्डमा विद्यार्थीहरूको मृत्यु भएको र त्यसको गम्भीर छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ ।




