पर्वत । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गरेका छन्।
नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्।
जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि पठनपाठनका लागि विद्यालय नियमित आवतजावत गर्न सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको उनले बताए। जोशीले जगदम्वाका २६ र बाल मन्दिरका २० गरी ४६ जना विद्यार्थीलाई एकै दिन कपडा वितरण गरेका हुन्।
उनले आफू सधैं विपन्न र गरिब परिवारको साथमा रहने पनि प्रतिबद्धता जनाए। यसअघि पनि नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थी, विद्यालय, उपचार पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्दै आएका छन्।
प्रतिकृया दिनुहॊस