काठमाडौं । नेपालमा मनसुनको सक्रियतासँगै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै काभ्रे जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ। असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्णतया निषेध गरिएको हो। यस निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १५ गते प्रकाशित गरेको सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म काभ्रे जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिलाई बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता र पूर्वतयारीका लागि सबैमा अनुरोध गरेको छ।
प्रमुख निर्णय र निर्देशनहरू:
-
सवारी आवागमन निषेध: बीपी राजमार्गको तोकिएको खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। रोसी खोला र अन्य स्थानीय खहरे खोलामा बाढी आएको खण्डमा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधन रोक्न सक्ने अधिकार दिइएको छ।
-
यात्रामा सावधानी: सर्वसाधारणलाई अत्यावश्यक नभई घरबाहिर ननिस्कन, विशेषगरी टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ।
-
बस्तीहरूमा सतर्कता: पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन भनिएको छ। स्थानीय तहहरूलाई स्वीकृत मनसुन कार्ययोजना अनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्न गराउन निर्देशन दिइएको छ।
-
सुरक्षित स्थानको जानकारी: डुबान हुन सक्ने बस्तीहरूका बासिन्दालाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिई आवश्यक पर्दा गाँउपालिका/नगरपालिकाद्वारा निर्धारित सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
-
प्रतिकार्यका लागि तयारी: जिल्लास्थित सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई स्वीकृत प्रतिकार्य योजना अनुरूप तयारी अवस्थामा रहन भनिएको छ।
-
सडक मर्मतका लागि साधन तयारी: बीपी र अरनिको राजमार्ग आयोजनाहरू (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) लाई सडकहरूमा तत्काल परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
-
सरोकारवालाको सहयोग: पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन भनिएको छ।
-
स्थानीय समितिको भूमिका: स्थानीय विपद् व्यवस्थापन समितिहरू र विपद् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टरको लिडहरूलाई स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।




