काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमीको मुख्य दिन आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न तथा मान्यजनको आशीर्वाद लिन आफन्तहरूको घरमा जाने क्रमसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल निकै बढेको छ ।
दशैँ घर वा पूजा कोठामा विधिपूर्वक नौ दिनसम्म पूजा गरिएका नवदुर्गाको आज विसर्जन गरिएपछि मान्यजनको हातबाट टीका थाप्ने क्रम सुरु भएको हो। त्रेता युगमा भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा मनाइने विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ। यसैले आजको दिनलाई विजयको प्रतीक पनि मानिन्छ।
काठमाडौं, ललितपुर र भक्तपुरका सडकहरूमा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरूकहाँ जान सवारीसाधन कुरेर बसेका मानिसहरूको लाम देख्न सकिन्छ। सधैँझैँ यस वर्ष पनि दशैँको टीका थाप्न र आशीर्वाद लिन आफन्तहरूकोमा पुग्नेहरूको उत्साहपूर्ण जमघटले राजधानीको माहोल उत्सवमय बनेको छ।
आजदेखि पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गाको प्रसादका रूपमा टीका, अन्य फूलहरूका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा ग्रहण गरिन्छ। जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने चलन छ। गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
विजयादशमीको यो शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ।



