काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो व्यक्तिगत जीवनको आर्थिक पाटोबारे उठाइएका प्रश्नहरूको सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमा उनको आर्थिक अवस्थाबारे केही टिकाटिप्पणी हुन थालेपछि मन्त्री पुनले आफूलाई आवश्यक पर्दा सधैँ साथीभाइ र शुभचिन्तकहरूले आर्थिक सहयोग गर्ने गरेको खुलासा गरेका हुन् ।
बिहीबार आफ्नो फेसबुकमार्फत मन्त्री पुनले लेखेका छन्, ‘अहिलेसम्म मलाई र श्रीमती पाल्ने, छोरीहरूलाई पाल्ने, पढाइदिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन् । मन्त्री भए पनि सबै खर्च पहिलेदेखि नै केही शुभचिन्तक साथीहरूले पुर्याइदिन्छन् । मलाई ढुक्क छ ।’
करीब ३२ वर्षअघि अमेरिकाबाट फर्किएपछि आफू ग्रामिण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गर्न सफल भएको प्रसंग उल्लेख गर्दै मन्त्री पुनले आफ्नो विगतका कार्यहरूमा प्रकाश पारेका छन् । पछिल्लो ७ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा ल्याएर नवप्रवर्तनमा लाग्ने युवाहरूलाई अवसर प्रदान गरेको र कोरोना महामारीका बेला निःशुल्क औषधि वितरणजस्ता जनमुखी कामहरू गरेको स्मरण गराउँदै उनले आफूमाथि जनताको अपार विश्वास हुनुको कारण बुझ्न आग्रह गरेका छन् ।
‘३० वर्षदेखि बन्द भएको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न अहिलेसम्म करोडौँ करोड रुपैयाँ आम जनताले किन दान गरे भनेर बुझौँ त,’ मन्त्री पुनको आग्रह छ ।
उनले आफ्नो यात्रा खर्च, जस्तै हवाईजहाजको टिकट, बस वा ट्याक्सी भाडासमेत आफैँले तिर्दै आएको बताएका छन् । यस सम्बन्धमा थप जानकारीका लागि आफ्नो आत्मकथा पुस्तक पढ्न पनि उनले सुझाव दिएका छन् ।




