काठमाडौं । विजयादशमीको पावन अवसरमा देशभर हर्षोल्लास छाएको बेला, मुग्लिन-नारायणगढ सडकखण्डमा भने यातायातका साधनहरू निर्वाध सञ्चालन भइरहेका छन् ।
सडक डिभिजन भरतपुरका अनुसार आज बिहान ८ बजेसम्म यस महत्वपूर्ण राजमार्गमा कुनै पनि किसिमको अवरोध सिर्जना भएको छैन, जसले गर्दा चाडपर्वका लागि घर फर्कने र यात्रा गर्नेहरूलाई ठूलो राहत मिलेको छ ।
मनसुन सकिए पनि बेलाबेला पर्ने वर्षा र चाडपर्वको समयमा बढेको सवारी चापका कारण सडकमा सामान्य रूपमा ढुंगा र लेदो खस्ने समस्या विगतदेखि नै रहँदै आएको छ । तर, यस वर्ष सडक डिभिजन भरतपुरको पूर्वतयारी र द्रुत प्रतिकार्यले गर्दा यस्ता सानातिना समस्याले पनि यात्रुहरूलाई सास्ती दिएको छैन । डिभिजनले राजमार्गमा २४ सै घण्टा उपकरणसहित कर्मचारीहरूलाई तैनाथ राखेको छ ।
डिभिजनका अनुसार अपरेटर अमर गुरुङको संयोजनमा खटिएको टोलीले सडकमा खसेका ढुंगारलेदो हटाउने कामलाई निरन्तरता दिइरहेको छ । यसरी खसेका सामग्रीलाई तत्कालै हटाएर सडक सफा राख्ने कार्य भइरहेकोले यातायात सञ्चालनमा कुनै कठिनाइ आएको छैन ।




