काठमाडौं । देशभरका पालिकाहरूले चाडपर्वको समयमा पनि शिक्षक तथा कर्मचारीहरूलाई तलब उपलब्ध नगराएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले यस विषयमा गम्भीर छानबिन गर्ने घोषणा गरेका छन् । मन्त्रालयले सबै पालिकाहरूलाई तलबका लागि रकम पठाइसकेको भए पनि भुक्तानीमा ढिलासुस्ती र बहानाबाजी गरिएको भन्दै ठूलो संख्यामा गुनासो आएपछि मन्त्री पुनले यो कदम चालेका हुन् ।
मन्त्री पुनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ५०० भन्दा बढी फोन तथा इमेल गुनासा प्राप्त भएको जानकारी दिएका छन् । विशेषगरी मधेश प्रदेशबाट सबैभन्दा धेरै गुनासा आएको उनले उल्लेख गरेका छन् । ‘वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो,’ मन्त्री पुनले लेखेका छन् ।
उनले शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई रकम पठाइसकेको स्पष्ट पार्दै भने, ‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।’
यसअघि पनि मन्त्री पुनले सबै शिक्षक तथा कर्मचारीहरूलाई नियमानुसार पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए । तर, मन्त्रीको निर्देशनको बाबजुद पनि पालिकाहरूबाट तलब भुक्तानीमा ढिलाइ भइरहेको छ ।




