जेनजी आन्दोलनपछि हर्क साम्पाङ नेतृत्वकोसहित तीन पार्टीले दिए निवेदन

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै नेपालमा नयाँ राजनीतिक दल दर्ताको लहर चलेको छ । निर्वाचन आयोगमा हालसम्म १३ वटा नयाँ पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन्, जसमध्ये जेनजी आन्दोलनपछि मात्रै तीनवटा दल थपिएका छन् । 

नयाँ दर्ताका लागि निवेदन दिने दलहरूमध्ये धरानका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा गठित ‘श्रम संस्कृति पार्टी (श्रसंपा)’ विशेष चर्चामा छ । साम्पाङले गत भदौ १६ गते पार्टी गठन गरी असोज ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । २३ सदस्यीय केन्द्रीय समिति रहेको श्रसंपाको केन्द्रीय कार्यालय काठमाडौंको सुकेधारामा तोकिएको छ भने सातवटै प्रदेशमा प्रदेश कार्यालयहरू स्थापना गरिएको छ ।

मेयर साम्पाङको श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई प्राथमिकतामा राखेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा जेनजी आन्दोलनलाई अघि बढाएका बेला साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकालत गरेका हुन् ।

पार्टीका उपाध्यक्ष राजकुमार लामा (देवराज) का अनुसार नागरिक सर्वोच्चताका लागि प्रत्यक्ष राष्ट्रपतीय प्रणाली अपरिहार्य छ । ‘सिधा जनताले भोट हाल्नुपर्छ, राष्ट्रपतिले नै विज्ञ प्रधानमन्त्री र मन्त्रिपरिषद् बनाउनुपर्छ । यसले नागरिक सर्वोच्चता र पारदर्शिता कायम हुन्छ,’ लामाले भने । 

श्रसंपाबाहेक अन्य दुई प्रमुख नयाँ दलहरूले पनि दल दर्ताका लागि निवेदन दिएका छन् :-

  • उज्यालो नेपाल पार्टी: काभ्रेका ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा यो पार्टी दर्ता प्रक्रियामा छ। तीनकुनेमा केन्द्रीय कार्यालय रहेको यस दलले मौलिक समाजवाद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा अघि सारेको छ । पार्टीको चुनाव चिह्न बिजुलीको चिम छ । अध्यक्ष तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि पार्टी खोल्ने विषयमा छलफल भएको तर बृहत सहकार्य हुन नसकेको बताए ।

  • नेपाल नागरिक पार्टी: वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गत बिहीबार नेपाल नागरिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छ न्। ४५ जनाको प्रारम्भिक टिम रहेको यो पार्टीले देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलतालाई आफ्नो सिद्धान्त बनाएको छ । भण्डारीका अनुसार छरिएर रहेका स्वच्छ दल र व्यक्तित्वलाई समेटेर मूलधारको राजनीति गर्ने लक्ष्य राखिएको छ। भ्रष्टाचारमुक्त राजनीतिलाई पार्टीले प्राथमिकता दिने उनले बताए ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १३ वटा दल दर्ताका लागि निवेदन आएको पुष्टि गर्दै कानुनअनुसार सबै रित पुर्‍याएको अवस्थामा दल दर्ता हुने बताए । यसरी नयाँ दलहरूको आगमनले आगामी निर्वाचनमा मतदाताहरूका लागि नयाँ विकल्पहरू उपलब्ध हुने निश्चित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री