काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । देशमा व्याप्त राष्ट्रिय शोक र पार्टीको केन्द्रीय कार्यालयमा भएको आगजनीलाई मुख्य कारण देखाउँदै कांग्रेसले यो निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।’
विसं २०३३ मा जननायक बिपी कोइराला ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिएर निर्वासनबाट स्वदेश फर्केपछि नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्ने परम्परा बसालेको थियो । यो कार्यक्रम पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूका लागि भेटघाट तथा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसर बन्दै आएको थियो ।
तर, यस वर्ष आम नेपाली नागरिकहरू अकल्पनीय शोकमा रहेकाले र पार्टी कार्यालयमा भएको क्षतिले गर्दा यो परम्परालाई निरन्तरता दिन नसकिने कांग्रेसले जनाएको छ । पार्टीले यस दुखद घडीमा राष्ट्रिय एकता र मेलमिलापको महत्वमा जोड दिएको छ ।





