सल्यान दुर्घटनाका मृतक तीन जनाको सनाखत, घाइतेलाई अस्पताल लगियो

काठमाडौं । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३, चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बिहान करिब ४ बजेतिर रुकुम पश्चिमबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा रुकुम पश्चिम, बाफीकोट गाउँपालिका-५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकी अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी रहेका छन् ।

पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताका आधारमा गरिएको थियो भने शशीधर केसीको पहिचान बाफीकोट गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेका हुन् । दुर्घटनामा परेर बाफीकोट गाउँपालिका-५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान ६ बजे बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा राति १० बजे गरिएको इन्ट्री विवरणअनुसार दुर्घटनाग्रस्त गाडीमा ३ पुरुष र २ महिला गरी जम्मा ५ जना सवार थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली घटनास्थलमा खटिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको कमाण्डमा थप ९ जनाको टोली परिचालन भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री