काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना गभर्नर डा. विश्वनाथ पौडेलको निवासका लागि उच्चस्तरीय सुविधासम्पन्न घर भाडामा लिने प्रक्रिया अगाडि बढाएको छ । बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक घरधनी, फर्म तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ ।
बैंकको सूचनाअनुसार, गभर्नर निवासका लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको प्रतिष्ठित क्षेत्रलाई प्राथमिकता दिइएको छ । घरको क्षेत्रफल कम्तीमा १६ आनादेखि २४ आनासम्म हुनुपर्नेछ । प्रस्तावित घरमा विशिष्ट मापदण्डहरू तोकिएका छन् । बैंकका अनुसार, कम्तीमा ६ वटा कार तथा जिप पार्किङ गर्न मिल्ने सुविधा अनिवार्य छ। घर आरसीसी संरचनामा निर्मित हुनुपर्नेछ र यसको प्लिन्थ क्षेत्रफल कम्तीमा १० हजार वर्ग फिट हुनुपर्नेछ । आवासीय प्रयोजनका लागि, घरमा एउटा मास्टर बेडरूमसहित कम्तीमा चारवटा बेडरूम, एक विशाल लिभिङ हल, आधुनिक किचन, डाइनिङ हल तथा पर्याप्त स्टोर रुमको व्यवस्था हुनुपर्नेछ ।
सुरक्षालाई विशेष ध्यानमा राख्दै, सुरक्षाकर्मीहरूका लागि छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ । घर सुरक्षित कम्पाउन्ड वालले घेरिएको हुनुपर्नेछ। पहुँचको हिसाबले, घर कालोपत्रे सडकसँग जोडिएको हुनुपर्नेछ र बिजुली, ढल निकास तथा खानेपानीलगायतका अत्यावश्यक पूर्वाधारहरूको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । घर अढाईदेखि तीन तलासम्मको उपयुक्त उचाइमा हुनुपर्नेछ ।
नेपाल राष्ट्र बैंकले तोकेका यी मापदण्डहरू पूरा गर्ने इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूलाई यस विभागबाट उपलब्ध गराइने घरभाडा प्रस्तावसम्बन्धी कागजात भरी आगामी असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।




