काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ आजदेखि देशभर सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै १५ दिनसम्म मनाइने यस पर्वको विधिवत् आरम्भ भएको हो । दुर्गा भवानीको विशेष पूजा-आराधना गरिने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाइन्छ ।
घटस्थापना र जमराको महत्व
आज बिहानै स्नान गरी शुद्ध भई नजिकको नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक राखिन्छ । यसमाथि वैदिक विधि अनुसार जौ (यव) छरेर जमरा राखिन्छ । जौलाई दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले यसको अंकुरण गराई विजयादशमीका दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभए पनि कतिपय कुल परम्परामा अन्य अन्न पनि रोप्ने चलन छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
आज स्थापना गरिने पूर्ण कलशको जलले विजयादशमीका दिन अभिषेक गरी दुर्गा देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ । यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ ।
नवरात्र: शक्तिका तीन रूपको पूजा
बडादसैँको यस १५ दिने अवधिलाई ‘दुर्गा पक्ष’ पनि भनिन्छ । नवरात्रभर शक्तिकी अधिष्ठात्री देवी दुर्गाका तीन रूपहरू महाकाली (शक्तिको प्रतीक), महालक्ष्मी (धनधान्य र ऐश्वर्यको प्रतीक) र महासरस्वती (विद्या र बुद्धिको प्रतीक) को विधिपूर्वक पूजा-आराधना गरिन्छ । दुर्गा भवानीले आसुरी एवं राक्षसी प्रवृत्तिमाथि विजय प्राप्त गर्न लिएका नौ रूपहरूको यस पक्षमा विशेष पूजा गर्ने गरिन्छ ।
विजयादशमीको साइत र पारिवारिक पुनर्मिलन
यस वर्ष नवरात्र १० रात र ११ दिनको हुन पुगेको छ, जसलाई तिथिको घटबढका कारण भएको मानिएको छ । असोज १६ गते विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान ९ः२३ बजे र टीका प्रसाद ग्रहणका लागि ११ः५३ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको व्रत बसी जाग्राम रहेर पूजा गर्नाले धन ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।
दसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ । रोजगारी, अध्ययन वा अन्य कारणले घरबाहिर रहेकाहरू यस अवसरमा घर फर्कन्छन् र परिवारका साथ चाड मनाउँछन् । हनुमानढोका दरबारको दसैँ घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आराधना सुरु भएको छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलिसहित विशेष पूजा गरिन्छ ।




