काठमाडौं । मोडर्न कन्या कलेजले आफ्नो १९औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे छ । कलेज प्राङ्गणमा आयोजित यस समारोहमा शिक्षाविद्, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. रामप्रसाद दाहालले कलेजका विगत १९ वर्षका शैक्षिक यात्रा र महिला सशक्तीकरणमा यसले पुर्याएको अतुलनीय योगदानको चर्चा गरे । उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
कलेजका प्रिन्सिपल सबिन पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आगामी शैक्षिक योजनाबारे प्रकाश पारिएको थियो । प्रिन्सिपल पोखरेलले कलेजलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे ।
समारोहको एक महत्त्वपूर्ण अंशका रूपमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने पाँच जना प्रतिभावान् छात्रालाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि डा. दाहालले मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा सञ्चारकर्मी सुरेन्द्र पौडेल, प्रा. मुकुन्दराज दाहाल, ज्ञानेन्द्र भट्टराई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।




