जेनजी आन्दोलनको प्रभाव : भारतले गर्‍यो नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जेनजी आन्दोलनले अस्तव्यस्त बनेको नेपालको अवस्थामा क्रमिक सुधार आएसँगै भारत सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक एडभाइजरी जारी गर्दै सडक यातायात र हवाई उडान नियमित सञ्चालनमा आए पनि अझै पनि सतर्कता अपनाउन जोड दिएको हो ।

दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् । यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ ।’

दूतावासले आफ्ना नागरिकको सहयोगका लागि हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको आधुनिक इतिहासमा एउटा कालो दिनका रूपमा अंकित छ । यस आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका थिए भने ३०० भन्दा बढी मानिसहरू घाइते भई अझै उपचाररत छन् ।

आन्दोलनको उत्कर्षमा भदौ २४ गते आक्रोशित भीडले देशका प्रमुख सरकारी भवनहरूलाई निशाना बनाएको थियो । संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत हजारौं सरकारी कार्यालयहरूमा आगजनी गरिनुका साथै नेताका घर तथा व्यावसायिक प्रतिष्ठानहरू पनि जलाइएका थिए । यस घटनाले नेपालको पूर्वाधार र आर्थिक गतिविधिमा ठूलो क्षति पुर्‍याएको छ ।

आन्दोलन मत्थर भएसँगै नेपालको जनजीवन सामान्यीकरणतर्फ उन्मुख छ । सडक र हवाई यातायातका साथै अन्य अत्यावश्यक सेवाहरू सुचारु भएका छन् । यद्यपि, आन्दोलनले पारेको दीर्घकालीन प्रभावलाई सम्बोधन गर्न र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारलाई ठूलो चुनौती रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री