जेनजी आन्दोलनका मृतकको सम्मानमा आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौं । भ्रष्टाचारविरुद्धको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाको  निधन भएको थियो ।

उनीहरूको त्याग र बलिदानको कदर गर्दै भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सोही निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा लागू भएको छ । यसका साथै, देशभरका सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

मृत्यु भएका युवाहरूको शवयात्रासहित मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरूको पार्थिव शरीरलाई भने उनीहरूकै जिल्लामा पुर्‍याई स्थानीय रीतिरिवाज अनुसार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री