पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व गर्न तयार

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग सिर्जना गर्दै जेनजी युवा पुस्ताले अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू तयार रहेको घोषणा गरेकी छन् । युवाहरूको विश्वासप्रति आफू अत्यन्तै विनम्र रहेको बताउँदै, ७१ वर्षीया कार्कीले देश सेवाका लागि कुनै पनि भूमिका निभाउन पछि नपर्ने स्पष्ट पारेकी हुन् ।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ सँगको विशेष कुराकानीमा कार्कीले जेनजी समूहले आफूलाई छोटो अवधिको लागि सरकारको नेतृत्व गर्न विश्वास गरेकोमा धन्यवाद व्यक्त गरिन्  । उनले भनिन्, ‘जेनजी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ 

हालै भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो । उक्त घटनापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि सडकमा उत्रिएकी थिइन् । उनको यो कदमले युवा आन्दोलनलाई थप नैतिक बल प्रदान गरेको थियो । न्यूज १८ सँगको कुराकानीमा उनले आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताएकी छन् । सर्वोच्च अदालतमा काम गर्दा पनि आफूले सामूहिक रूपमा नै काम गरेको उनले स्मरण गराइन् ।

भारतीयहरूले मलाई दिदीबहिनी जस्तै व्यवहार गर्छन्
सन् १९७५ मा भारतको वाराणसीस्थित बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीको भारतसँग लामो र आत्मीय सम्बन्ध रहेको छ । उनले भारतीयहरूसँगको आफ्नो सम्बन्धलाई स्मरण गर्दै भनिन्, ‘भारतीय साथीहरूले मलाई दिदीबहिनी जस्तै व्यवहार गर्छन् ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको समेत उल्लेख गरिन् । विद्यार्थी जीवनका सम्झनाहरू ताजा गर्दै उनले भनिन्, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो । भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री