संसद् विघटन असंवैधानिक, जेनजीसहितको अन्तरिम सरकारको विकल्प : सोबिता गौतम (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चताको प्रतीकका रूपमा रहेको संसद् विघटन कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छिन् । बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि नै सङ्कट उत्पन्न गराउनु भएको बताउँदै यस कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिएकी हुन् ।

सांसद गौतमले जेनजी पुस्ताको सक्रिय संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने विकल्प प्रस्तुत गर्दै तर संसद्लाई भने कायम राख्नुपर्नेमा जोड दिएकी छिन् । ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो,’ उनले भनिन् ।

उनले जेनजीहरूलाई देखाएर कुनै पनि स्वार्थ प्रेरित निर्णयहरू गर्न नपाइने धारणा राखिन् । सांसद गौतमका अनुसार, जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिन्छ, जसले निष्पक्ष चुनाव घोषणा गर्न सकोस् । उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ ।’

गौतमले अन्तरिम सरकारले चुनाव घोषणा गरेमा अहिले सक्रिय भएका जेनजीहरूले चाहेको सक्षम र योग्य व्यक्तिहरूलाई चुनावमार्फत संसद्मा ल्याउन सकिने विश्वास व्यक्त गरिन् । उनको यो भनाइले युवा पुस्ताको राजनीतिक सक्रियता र उनीहरूको भूमिकालाई उच्च महत्त्व दिएको देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री