काठमाडौं । राजधानीका सडकहरूमा नेपाली सेनाले गस्ती सुरु गरेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिका कारण राति १० बजेदेखि सेनासहितका सुरक्षा निकाय परिचालन गरिएका हुन् ।
सेनाले घरबाहिर र गल्लीहरूमा निस्किएका सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ । यद्यपि, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको छ । प्रदर्शनकारीले आगजनी गरेको संसद भवन परिसरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ भने अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।
यसैबीच, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएको जानकारी दिएको छ । निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिन सचेत रहन तथा निरन्तर निगरानीका लागि आम नागरिकमा अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरिन्छ ।’ देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृंखल तत्वबाट लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको छ ।
साथै, निर्देशनालयले केही उच्छृंखल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरेको छ ।




