काठमाडौं । नव युवा पुस्ता ‘जेनजी’को अगुवाइमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनले मुलुकभर हिंसात्मक रूप लिँदा अभूतपूर्व धनजनको क्षति भएको छ । काठमाडौंको माइतीघरबाट सुरु भई देशका प्रमुख सहरहरूमा फैलिएको यो प्रदर्शनले २३ जनाको ज्यान लिएको छ भने सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस क्रममा खरबौँको भौतिक क्षति भएको हो ।
प्रदर्शनकारीहरूको अनियन्त्रित भीडले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सर्वोच्च अदालत, जिल्ला अदालत लगायत मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनी गरेको छ । आगजनीबाट राणाकालीन सम्पदाको मुख्य भवन सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अन्य मन्त्रालय र कार्यालयहरूमा भएको भौतिक तथा तथ्यगत प्रमाणको क्षति अकल्पनीय छ ।
सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा निर्माण गर्न लगाएको, एक हजार सात सय कोठा भएको एसियाकै ठूलो यो दरबारलाई २००७ सालमा राणा शासनको अन्त्य भएपछि नेपाल सरकारको कार्यालयका रूपमा प्रयोग गरिएको थियो । २०३० सालमा भएको ठूलो आगलागीबाट यसको पछाडिपट्टिको धेरैजसो भाग नष्ट भएको थियो भने २०७२ को भूकम्पले क्षतिग्रस्त मुख्य भवन पुनर्निर्माण भएपछि पुनः आगलागीको चपेटामा परेको छ ।
आगजनी र तोडफोडबाट उपत्यकाका अधिकांश सरकारी कार्यालय, सुरक्षा निकायका भवन र पोस्टहरू, सरकारी उच्च पदस्थ अधिकारी तथा राजनीतिक पार्टीका कार्यालय र निजी निवासहरूमा व्यापक क्षति पुगेको छ । निशानामा परेका भवन तथा व्यापारिक केन्द्रहरूमा समेत लुटपाट भएको छ । मंगलबार राजधानीमा भएको प्रदर्शनमा प्रहरीतर्फ पनि भौतिक क्षति र हताहती भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी युनिटहरूमा अकल्पनीय मानवीय तथा भौतिक क्षति भए पनि त्यसको यकिन विवरण संकलन हुन सकेको छैन । सबै प्रहरी युनिटहरू प्रदर्शनकारीको निसानामा परेका कारण अन्य युनिटहरूसँग सम्पर्क हुन नसकेको बुझिएको छ । प्रदर्शनकारीहरूले नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण मिडिया नेटवर्क लगायतका सञ्चार माध्यमका भवनमा समेत आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय, नेकपा एमाले, नेकपा माओवादी लगायत पार्टीका कार्यालय र नेताहरूको घरमा आगजनी, तोडफोड र लुटपाट गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रवेश गरी देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । त्यसै गरी महामन्त्री गगन थापाको घरमा आगजनी तथा तोडफोड गरिएको छ ।
संघीय राजधानी बाहिर पनि व्यापक क्षति
-
कोशी प्रदेश: प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, आन्तरिक राजस्व कार्यालय र मेची भन्सार कार्यालयमा आगजनी ।
-
मधेश प्रदेश: मधेश प्रदेश सरकारको मुख्यालय, सचिवालयका सबै भवन र धनुषास्थित जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी ।
-
गण्डकी प्रदेश: पोखरा महानगरका संरचनामा आगजनी र तोडफोड, गण्डकी प्रदेशसभा भवन, कास्की जिप्रका र जिप्रका कार्यालय, कास्की जिल्ला अदालत, पोखरा उच्च अदालत, प्रदेश लोकसेवा आयोगको कार्यालयमा आगजनी ।
-
बागमती प्रदेश: अधिकांश मन्त्रालय, हेटौंडा उपमहानगर कार्यालय, उच्च अदालत, कर्मचारी संचयकोष कार्यालयमा आगजनी र क्षति ।
-
लुम्बिनी प्रदेश: रुपन्देहीस्थित उच्च र जिल्ला अदालतसहित दर्जनौं सरकारी कार्यालयमा आगजनी । बुटवल र भैरहवास्थित आन्तरिक राजस्व कार्यालयहरू, भन्सार कार्यालयसहित एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय तोडफोड र गाडीमा आगजनी ।
-
कर्णाली प्रदेश: सुर्खेतस्थित प्रदेशसभा कार्यालयसहित वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, मुख्यमन्त्री निवास, अख्तियारमा आगजनी ।
-
सुदूरपश्चिम प्रदेश: धनगढीस्थित महालेखा नियन्त्रकको कार्यालयमा आगजनी । मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकासको कार्यालयमा आगजनी । जिल्ला अदालत कैलाली, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीमा आगजनी ।




