काठमाडौं । देशको संघीय राजधानी काठमाडौं यतिबेला निषेधाज्ञा र कर्फ्युको चपेटामा परेको छ । पछिल्लो समय बढ्दै गएका प्रदर्शन र विशेषगरी ‘जेनजी’ प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शहरका संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्युका प्रमुख क्षेत्रहरू:-
-
भीआईपी निवास क्षेत्र: राष्ट्रपति निवास शीतलनिवास (महाराजगञ्ज), उपराष्ट्रपति निवास हरित गृह (लैनचौर), नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार वरपरका क्षेत्रमा दिउँसो १ बजेदेखि कर्फ्यु लगाइएको छ ।
-
शीतलनिवास (महाराजगञ्ज): राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र सामाखुसी खोलासम्म ।
-
हरित गृह (लैनचौर): केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म ।
-
नारायणहिटी दरबार संग्रहालय: केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिकसम्म ।
-
सिंहदरबार क्षेत्र: भद्रकाली मन्दिर (तीनकुने आइल्याण्ड) को पूर्वी कुनादेखि सिंहदरबार मूल गेटसम्म, पद्मोदय माविको मोडसम्म, महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबार उत्तरपूर्वी मोड, हनुमानस्थान मन्दिरसम्म र सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म ।
-
-
संसद भवन आसपास: बानेश्वर क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै संसद भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
-
बानेश्वर: चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म ।
-
‘जेनजी’ समूहका प्रदर्शनकारीहरूले संसद भवन प्रवेश गर्ने प्रयास गरेपछि उत्पन्न तनावपूर्ण स्थिति नै कर्फ्यु जारी गर्नुको मुख्य कारण बनेको छ । प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि भीड नियन्त्रणमा लिन नसकेपछि प्रशासनले जनधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न यो कदम चालेको हो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडिएपछि स्थिति थप जटिल बनेको थियो ।
यस कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउलगायतका गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । प्रशासनको यो कदमले राजधानीको दैनिक जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणमा त्रा’स र अन्योल छाएको छ । सुरक्षाकर्मीहरूले कर्फ्यु क्षेत्रमा कडा निगरानी बढाएका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अर्को आदेश नआएसम्म कर्फ्यु आदेश कायमै रहने जनाएको छ । सर्वसाधारणलाई संयमित रहन र प्रशासनले जारी गरेका नियमहरू पालना गर्न आग्रह गरिएको छ । राजधानीमा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको प्रशासनको भनाइ छ ।
यस परिस्थितिले राजधानीको शान्ति र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने भविष्यमा यस्ता प्रदर्शनहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि थपेको छ ।





