काठमाडौं । नेपालमा ‘जेन-जी’ युवा समूहले आह्वान गरेको प्रदर्शनले देशको संघीय राजधानी काठमाडौंमा हिंसात्मक मोड लिएपछि आयोजक ‘जेन-जी नेपाल’ले प्रदर्शनकारीहरूलाई तत्काल घर फर्कन आह्वान गरेको छ । सामाजिक सञ्जालमार्फत जेन-जी नेपालले आन्दोलनमा ‘स्वार्थ प्रेरित समूहहरू’को घुसपैठ भएको र भिडलाई उत्तेजित पारिएको भन्दै घर फर्कन आह्वान गरेको हो ।
जेन-जी नेपालले आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै भनेको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’ यो आह्वान प्रदर्शनले उग्र रूप लिएको केही समयपछि नै आएको हो ।
मध्यान्ह बानेश्वर क्षेत्रमा सुरु भएको प्रदर्शनले केही घण्टामै हिंसात्मक रूप लिएको थियो । प्रदर्शनकारीहरूले संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काउनुका साथै गेटमा आगो लगाएका थिए । सुरक्षा अधिकारीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट चलाउनुपरेको बताएका छन् ।
रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ‘जेन-जी’ पुस्ताको नाममा प्रदर्शनमा घुसपैठ भएपछि यो निर्णय लिइएको हो ।
प्रशासनले यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरेको छ र सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरेको छ ।





