काठमाडौं । नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको चेतावनीको अल्टिमेटम आज राति १२ बजे सकिँदैछ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, गुगल, जीमेल लगायतका ठूला सञ्जालहरूले अहिलेसम्म सूचीकरणका लागि निवेदन दिएका छैनन् । सरकार अब सञ्चालक कम्पनीहरूबाट अन्तिम क्षणमा आउने ‘मेल’ कुरेर बसेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राति १२ बजेसम्म प्रतीक्षामा छ । यद्यपि, कुन सञ्जाल बन्द गर्ने भन्नेमा सरकार स्वयं अलमलमा छ । गुगल र जीमेल जस्ता अत्यावश्यक सेवाहरू बन्द गर्दा सरकारी कामकाजमा समेत असर पर्ने भएकाले केही सञ्जालहरू बन्द नहुन सक्ने अधिकारीहरूले बताएका छन् ।
हालसम्म नेपालमा भाइबर र टिकटक मात्रै सूचीकृत छन् । सरकारले पटकपटक सूचीकरणका लागि आग्रह गरे पनि फेसबुकको मुख्य कम्पनी मेटाले नेपालको कानून मान्न आनाकानी गरेको मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका थिए । यसले गर्दा सामाजिक सञ्जालको भविष्यलाई लिएर ठूलो अनिश्चितता सिर्जना भएको छ ।




