सुदूरपश्चिम लगानी सम्मेलन-२०८२ को तयारी तीव्र, मुख्यमन्त्री शाहद्वारा संघीय सरकारसँग सहयोगको अपिल

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई लगानीको आकर्षक गन्तव्य बनाउने उद्देश्यका साथ प्रदेश सरकारले आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२’ को तयारी तीव्र पारेको छ । यसै सन्दर्भमा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार संघीय राजधानीमा विभिन्न मन्त्री र उच्च अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेको छ ।

मुख्यमन्त्री शाहले गृहमन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरे। यी भेटघाटमा उनले सुदूरपश्चिमको अपार सम्भावनालाई उजागर गर्दै प्रदेशमा लगानी भित्र्याउन संघीय सरकारको साथ र सहयोग अपरिहार्य रहेको बताए।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले लगानीकर्ताका लागि आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीका लागि इच्छुक निजी क्षेत्र र दातृ निकायहरूसँग समेत छलफल भइरहेको जानकारी दिए। उनले प्रदेशको द्रुत विकासका लागि संघ र प्रदेशबीच विद्यमान कानुनी जटिलताहरूलाई सहमति र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लगानी क्षेत्रमा उत्पादित वस्तुको बजार सुनिश्चितता र निर्यातमा जोड दिए। उनले दातृ निकायका अतिरिक्त व्यक्तिगत विदेशी लगानीकर्ताहरूलाई समेत आकर्षित गर्ने गरी नीति निर्माण गर्न र जग्गा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए। मन्त्री अधिकारीले कृषि क्षेत्रमा रहेका चुनौतीहरूलाई समयमै पहिचान गरी समाधान गर्न सके सम्भावित नोक्सानी कम गर्न सकिने धारणा राखे।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ को तयारीका क्रममा मुख्यमन्त्री नेतृत्वको टोलीले संघीय राजधानीमा विभिन्न मन्त्रालय, दातृ निकाय, निजी क्षेत्र, व्यापारी र कूटनीतिक नियोगहरूसँग गहन छलफल र अन्तर्क्रिया गरिरहेको छ। प्रदेशको आर्थिक समृद्धि र विकासमा यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री