सुदूरपश्चिममा लगानीका लागि पर्यटनमन्त्री पाण्डे र मुख्यमन्त्री शाहको आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निजी क्षेत्रलाई लगानीका लागि सुदूरपश्चिम प्रदेश सरकार आतुर रहेको बताएका छन् । सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो धारणा राखे।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमका अपार सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहेको बताए। “यसका लागि स्वदेशी निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौं,” मुख्यमन्त्री शाहले भने, “लगानी सम्मेलनमा सहभागी भई त्यहाँका सम्भावनाहरूको अध्ययन गरेर लगानी गर्न सबैलाई आह्वान पनि गर्दछु।” सुदूरपश्चिमलाई पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’को संज्ञा दिँदै मुख्यमन्त्री शाहले यस क्षेत्रमा लगानी गर्न आह्वान गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पनि सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि जोडदार आह्वान गरेका छन्। मन्त्री पाण्डेले सुदूरपश्चिमलाई पर्यटक आकर्षणका लागि ‘नेचर, कल्चर र एड्भेन्चर’को उत्कृष्ट समिश्रण भएको प्रदेशका रूपमा व्याख्या गरे। “सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन्,” उनले भने, “यस लगानी सम्मेलनमार्फत् सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु।”

मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरूको तयारी पूर्ण भइसकेको जानकारी दिँदै निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झनहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। यो सम्मेलनले सुदूरपश्चिमको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने र यस क्षेत्रमा नयाँ लगानीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री