काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौम भूभाग लिम्पियाधुरालाई समेटेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग मिचेर भारत र चीनबीच व्यापार मार्ग खोल्ने सम्झौता भएको बारेमा प्रश्न गर्दा ‘अवश्य उठ्ने’ जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीनको तियानजिन जाँदैछन् । यस भ्रमणका क्रममा उनले दुई छिमेकी राष्ट्रले नेपालको भौगोलिक अखण्डतालाई चुनौती दिँदै गरेको यस सम्झौताबारे आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ ।
नेपालले लामो समयदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो अविभाज्य भूभागका रूपमा दाबी गर्दै आएको छ । भारत र चीनबीचको यो सम्झौताले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजले चर्को विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको यो प्रतिबद्धतालाई उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




